ललितपुर, फागुन १ । ललितपुरको गोदावरी नगरपालिकाका कार्यपालिका सदस्य बिना नगरकोटीसहित नेकपाका विभिन्न तहका नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
गोदावरी–२ विशंखुनारायणमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा उम्मेदवार उदयशमशेर राणाले उनीहरूलाई पार्टीमा स्वागत गर्नुभयो। पार्टी प्रवेश गर्नेहरूमा वडा सदस्य उम्मेदवार निता बिसुङ्खे, खानेपानी अध्यक्ष राजन विष्ट र समाजसेवी दिनेश विष्ट लगायत रहेका छन्।
उम्मेदवार राणाले जनप्रतिनिधिहरूकै आगमनले आफ्नो जित सुनिश्चित भएको दाबी गरे भने बागमती प्रदेश सांसद मीनकृष्ण महर्जनले देशभर कांग्रेसको लहर चलेको बताए। निर्वाचनको मुखमा स्थानीय स्थापित नेताहरू कांग्रेसमा ध्रुवीकृत भएसँगै यस क्षेत्रमा कांग्रेसको चुनावी पक्ष बलियो देखिएको छ।




