काठमाडौं, फागुन ३ । आइसिसी पुरुष टी-२० विश्वकपको समूह ‘सी’ अन्तर्गतको खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना समाप्त भएको छ।
मुम्बईस्थित ऐतिहासिक वानखेडे स्टेडियममा आज भएको खेलमा नेपालले दिएको १३४ रनको मध्यम लक्ष्यलाई वेस्ट इन्डिजले मात्र १५.२ ओभरमा १ विकेट गुमाउँदै सहजै पूरा गर्यो। जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो ।
यसअघि नेपाल पहिलो खेलमा इङ्गल्याण्ड र दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो। यस हारसँगै गणितीय रूपमा पनि नेपालको ‘सुपर ८’ मा पुग्ने आशा सकिएको छ र नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिने निश्चित भएको छ।




