काठमाडौं, फागुन ६ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीको ‘प्रतिज्ञा पत्र’ सर्वसम्मत रूपमा पारित गरेको छ।
भर्चुअल बैठकबाट अनुमोदन गरिएको उक्त प्रतिज्ञा पत्र आज मधेशको ऐतिहासिक र सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने एक विशेष सभामार्फत सार्वजनिक गरिँदैछ। उक्त सभालाई पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
कांग्रेसले मधेशको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिन जनकपुरलाई यो घोषणाको केन्द्र बनाएको हो। मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवका अनुसार पार्टीले मधेशका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेन्डाको रूपमा आत्मसात् गरेको छ।
यो प्रतिज्ञा सभालाई कांग्रेसले मधेशको माटोबाट संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउने ऐतिहासिक अवसरका रूपमा लिएको छ।




