काभ्रे, फागुन ६ । अरनिको राजमार्गअन्तर्गत काभ्रेको बनेपामा आज बिहान करिब ८:४५ बजे टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जना चालकको घटनास्थलमै मृत्यु भएको छ।
दूरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनामा धुलिखेल नगरपालिका-५ का ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको छ। टिपरको ठक्करबाट प्रधानको ज्यान गएपछि आक्रोशित बनेका स्थानीयले उचित क्षतिपूर्ति र कारबाहीको माग गर्दै अरनिको राजमार्ग अवरुद्ध गरेका थिए। आक्रोशित बनेका स्थानीय बासिन्दाले ठक्कर दिने टिपरमा आगजनी गरेपछि बनेपा क्षेत्र निकै तनावग्रस्त बनेको थियो।
पीडित पक्षले उचित क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो। केही घण्टाको तनाव र सडक अवरोधपछि, सुरक्षाकर्मीको कडा निगरानीका बीच अहिले राजमार्ग पुन: सञ्चालनमा ल्याइएको छ।




