काठमाडौं, फागुन ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सुर्खेतबाट आफ्नो बृहत् संकल्प पत्र ‘वाचा २०८२’ सार्वजनिक गरेको छ। यस घोषणापत्रमा पार्टीले नेपालको शासकीय स्वरूपमा परिवर्तन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसद्को प्रस्ताव गरेको छ।
आर्थिक रूपान्तरणका लागि आगामी ५ वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र प्रतिव्यक्ति आय ३,००० डलर पुर्याउने लक्ष्य राखिएको छ। साथै, सूचना प्रविधिलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गर्दै १० वर्षमा यसको निर्यात ३० अर्ब डलर पुर्याउने र सातै प्रदेशमा डिजिटल पार्क बनाएर ५ लाख रोजगारी सिर्जना गर्ने रास्वपाको योजना छ।
सामाजिक न्याय र सुशासनतर्फ रास्वपाले दलित तथा सीमान्तकृत समुदायमाथि भएका ऐतिहासिक अन्यायका लागि क्षमायाचना गर्ने र भदौ २३–२४ को ‘जेनजी’ आन्दोलनका घटनाहरूको छानबिन प्रतिवेदन पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। भ्रष्टाचारमा शून्य सहनशीलता, सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति अडिट, र कर्मचारीतन्त्रलाई दलीय राजनीतिको प्रभावबाट मुक्त गराउने विषयलाई प्राथमिकता दिइएको छ। यस्तै, सहकारी पीडितहरूको बचत १०० दिनभित्र फिर्ता गर्ने र ऊर्जा क्षेत्रमा ३०,००० मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहित ‘ऊर्जा दशक’ मनाउने नीति अघि सारिएको छ।
रेलवे विस्तारको ५० वर्षे गुरुयोजना, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मतदानको अधिकार र नेपाललाई क्षेत्रीय शक्तिहरूबीचको ‘भाइब्रेन्ट ब्रिज’ (जीवन्त पुल) का रूपमा स्थापित गर्ने परराष्ट्र नीति पनि घोषणापत्रका मुख्य आकर्षण हुन्। डिजिटल रूपान्तरणमार्फत सरकारी सेवालाई झन्झटमुक्त बनाउने र ढिलासुस्ती गर्ने कर्मचारीलाई स्वतः जवाफदेही बनाउने प्रणाली लागू गर्ने वाचा रास्वपाले गरेको छ।




