गोरखा, फागुन १० । गोरखाको पहाडी भूगोलमा एउटा यस्तो नाम छ, जसलाई धेरैले पदभन्दा पहिले सेवाबाट चिन्छन्—प्रेमकुमार खत्री। पैसा कमाउने क्षमता सबैसँग नहुन सक्छ, तर पैसा भएर पनि समाजसेवामा समर्पित हुने मन सबैमा हुँदैन भन्ने भनाइलाई उनले आफ्नै जीवनबाट प्रमाणित गरेका छन्। व्यवसायबाट आर्जित स्रोतलाई समाजमै फर्काउने अभ्यासमार्फत उनले आफूलाई गोरखाको सक्रिय सामाजिक अभियन्ताका रूपमा स्थापित गरेका छन्।
आरुघाट–८, आरुपोखरीमा जन्मेर हुर्किएका ४१ वर्षीय खत्रीले व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्। युवावस्थामै पर्यटन व्यवसायमा प्रवेश गरेका उनले क्रमशः ऊर्जा र कृषि क्षेत्रमा पनि लगानी विस्तार गरे। व्यावसायिक सफलतासँगै सामाजिक दायित्व वहन गर्नुपर्छ भन्ने सोचले उनलाई गाउँ–गाउँसम्म पुर्यायो। २२ वर्षको उमेरदेखि नै उनले सामाजिक सेवाको यात्रा निरन्तर अघि बढाएका छन्।
२०७२ सालको विनाशकारी गोरखा भूकम्पले जिल्लालाई तहसनहस बनाएको कठिन समयमा खत्री राहत, उद्धार र पुनर्निर्माणमा अग्रपंक्तिमा देखिए। घरबारविहीन भएका विपन्न परिवारका लागि ७९ वटा घर निर्माण गरी हस्तान्तरण गर्नु उनका लागि केवल परोपकार नभई सामाजिक उत्तरदायित्वको अभ्यास थियो। खाद्यान्न, अस्थायी आवास, स्वास्थ्य सामग्री तथा पुनःस्थापनाका प्रयासमार्फत उनले गाउँ–गाउँमा पुगेर प्रत्यक्ष सहयोग पुर्याए।
कोभिड–१९ महामारीका बेला पनि उनी जोखिमका बीच सक्रिय रहे। एम्बुलेन्स, अक्सिजन सिलिन्डर र औषधिसहित दुर्गम बस्तीमा पुगेर सेवा पुर्याए। गोरखाका ११ वटै स्थानीय तहमा १३ वटा एम्बुलेन्स उपलब्ध गराउँदै स्वास्थ्य सेवाको पहुँच विस्तारमा योगदान दिएका छन्। ७ वटा स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना तथा आवश्यक उपकरण सहयोगमार्फत गाउँमै उपचारको आधार तयार पारिएको छ। नियमित स्वास्थ्य शिविर सञ्चालन गरी निःशुल्क जाँच र औषधि वितरणबाट हजारौँ नागरिक लाभान्वित भएका छन्।
शिक्षा क्षेत्रमा उनको योगदान विशेष उल्लेखनीय छ। ३० हजारभन्दा बढी विद्यार्थीलाई विद्यालय पोसाक, जुत्ता, झोला तथा शैक्षिक सामग्री वितरण गरिएको छ। आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षासम्म सहयोग उपलब्ध गराइँदै आएको छ। विभिन्न विद्यालयमा अक्षयकोष स्थापना, भवन तथा छात्रावास निर्माणमार्फत ग्रामीण शिक्षाको पूर्वाधार सुदृढ बनाउने प्रयास गरिएको छ। उनका लागि शिक्षा दान होइन—भविष्यमा गरिएको दीर्घकालीन लगानी हो।
महिला तथा युवाको सशक्तिकरणमा पनि खत्री सक्रिय छन्। १५० भन्दा बढी महिला समूहलाई आयआर्जन सामग्री सहयोग गरी आत्मनिर्भरतातर्फ उन्मुख गराइएको छ। गाउँ–गाउँका १०५ युवा क्लबलाई खेलकुद सामग्री र आर्थिक सहयोगमार्फत सकारात्मक गतिविधिमा जोडिएको छ। पञ्चेबाजा र खैजडी भजनजस्ता मौलिक सांस्कृतिक धरोहरको संरक्षणसँगै युवालाई रोजगारीसँग जोड्ने पहल अघि बढाइएको छ। कफी खेतीजस्ता कार्यक्रममार्फत ग्रामीण स्वरोजगार सिर्जनामा पनि जोड दिइएको छ।
“सेवामार्फत परिवर्तन सम्भव छ” भन्ने विश्वाससहित उनले ‘सम्भव नेपाल’ अभियान सञ्चालन गर्दै शिक्षा, स्वास्थ्य र स्वरोजगारका क्षेत्रमा संस्थागत रूपमा कार्यक्रम अघि बढाएका छन्। सामाजिक कार्यलाई व्यक्तिनिष्ठ नभई संस्थागत संरचनामा रूपान्तरण गर्नुपर्ने उनको धारणा छ।
विद्यार्थी जीवनदेखि नै राजनीतिक रूपमा सक्रिय रहेका खत्रीले आरुघाटस्थित भिमोदय माध्यमिक विद्यालयमा अध्ययनका क्रममा नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। हाल उनी नेपाली कांग्रेसका महासमिति सदस्य हुन्। पार्टीभित्र युवा र परिवर्तनको पक्षमा स्पष्ट धारणा राख्दै आएका उनलाई यसपटक गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा अघि सारिएको छ।
३० भन्दा बढी देशको भ्रमण गरी त्यहाँका विकास अनुभव नजिकबाट अध्ययन गरेको उनले बताउँदै आएका छन्। पर्यटन, ऊर्जा र कृषि क्षेत्रमा लगानीमार्फत सयौँ युवालाई प्रत्यक्ष रोजगारी सिर्जना गरिएको दाबी छ। अब ती अनुभवलाई नीतिगत तहमा रूपान्तरण गर्ने उनको लक्ष्य रहेको छ।
सरल स्वभाव, स्पष्ट विचार र विकासप्रेमी सोचका रूपमा परिचित खत्री राजनीतिलाई शक्ति आर्जनको माध्यम नभई सेवाको विस्तारित रूप ठान्छन्। करिब डेढ दशकदेखि निरन्तर सामाजिक सेवामा सक्रिय रहेका उनी अब त्यस अनुभवलाई संसदीय नेतृत्वमार्फत अझ व्यापक बनाउने तयारीमा छन्।
गोरखाली जनताका लागि प्रेम खत्री केवल उम्मेदवार होइनन्—संकटमा साथ दिने, शिक्षा र स्वास्थ्यमा हात बढाउने, रोजगारी र आत्मनिर्भरता जोड्ने भरोसाको नाम बनेका छन्। अब त्यो सेवा भावलाई औपचारिक नेतृत्वमा रूपान्तरण गर्ने कि नगर्ने निर्णय भने मतदाताको हातमै छ।




