काठमाडौं, फागुन १२ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले आफ्नो जीवन सधैं समाजसेवामा बिताएको र अब देश र जनताका लागि समर्पित हुन चुनावी मैदानमा आएको बताउनुभएको छ।
नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले अब जनताले आफ्नो प्रतिनिधि खोज्दै हिँड्नुपर्ने अवस्था अन्त्य गर्ने र युवा पुस्ताको भावना अनुसार बदलिएको कांग्रेसले नै देशको नेतृत्व गर्ने दाबी गर्नुभयो। सोही अवसरमा कांग्रेसका केन्द्रीय सदस्य जीतनारायण श्रेष्ठले नयाँ नीति र नेतृत्वका साथ आएको पार्टीलाई विजयी गराउन आग्रह गर्नुभयो।
यस्तै, चितवन क्षेत्र नम्बर १ मा आयोजित घरदैलोका क्रममा उम्मेदवार राजेन्द्र बुर्लाकोटीले युवाहरूको भावना सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो भने क्षेत्र नम्बर ३ मा उम्मेदवार टेकप्रसाद गुरुङले थारु समुदायका मागहरू पूरा गर्न कांग्रेसकै नेतृत्व आवश्यक रहेको बताउनुभयो। हाल चितवनका सबै वडाहरूमा कांग्रेसका नेता तथा कार्यकर्ताहरूले चुनावी अभियान र घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन्।




