झारखण्ड, फागुन १२ । भारतको झारखण्डस्थित चतरा जिल्लामा सोमबार साँझ एक एयर एम्बुलेन्स दुर्घटना हुँदा विमानमा सवार सातै जनाको मृत्यु भएको छ।
राँचीको बिरसा मुण्डा विमानस्थलबाट ५५ प्रतिशत जलेका बिरामी सञ्जय कुमारलाई थप उपचारका लागि नयाँ दिल्लीतर्फ लैजाँदै गरेको ‘रेडबर्ड एभिएसन’ को बीचक्राफ्ट सी-९० विमान खराब मौसमका कारण सिमरियाको घना जंगलमा खसेको हो।
साँझ करिब ७:३० बजे भीषण आँधीबेहरी र मुसलधारे वर्षा भइरहेका बेला एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क विच्छेद भएर भएको यस दुर्घटनामा बिरामी, उनकी श्रीमती, चिकित्सक र चालक दलका सदस्यसहित सबैको ज्यान गएको छ।
स्थानीय प्रशासनले घटनास्थलबाट सबै शवहरू संकलन गरी पोस्टमार्टमका लागि पठाएको छ भने दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन नागरिक उड्डयन मन्त्रालयको टोलीले विमानको ‘ब्ल्याक बक्स’ खोजी गरी थप अनुसन्धान अगाडि बढाउने बताएको छ।




