काठमाडौं, फागुन १२ । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशैभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनलाई लक्षित गर्दै फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगको सिफारिसअनुसार मतदाता र निर्वाचनमा खटिने कर्मचारीहरूको सहजताका लागि यो निर्णय गरिएको जानकारी दिनुभयो।
निर्वाचनको अघिल्लो दिन फागुन २०, निर्वाचन हुने दिन फागुन २१ र निर्वाचन पछिको मतगणना तथा व्यवस्थापनको समय फागुन २२ लाई समेटेर यो बिदा घोषणा गरिएको हो। यस निर्णयसँगै देशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायहरू तीन दिन बन्द रहनेछन्।




