चितवन, फागुन १३ । चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी मिना खरेलले आफू निर्वाचित भए यस क्षेत्रमा व्याप्त ‘ठग प्रवृत्तिको राजनीति’ अन्त्य हुने दाबी गर्नुभएको छ।
चुनावी घरदैलो अभियानका क्रममा मतदातासँग संवाद गर्दै खरेलले आफ्नो उम्मेदवारी व्यक्तिगत लाभका लागि नभई समाज र सिमान्तकृत समुदायको उत्थानका लागि भएको बताउनुभयो। “मिनाले जिते समाज, देश, महिला र बालबालिकाले जित्नेछन्,” उहाँले भन्नुभयो, “मेरो जितसँगै भ्रम र ठगीको राजनीति सदाका लागि समाप्त हुनेछ।”
भ्रष्टाचारविरुद्धको प्रतिबद्धता लामो समयदेखि भ्रष्टाचारविरोधी अभियानमा सक्रिय रहेको उल्लेख गर्दै खरेलले आफूमाथि कुनै पनि दाग वा अनैतिक आरोप नरहेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “मैले कसैसँग बेइमानी गरेकी छैन र मतदातासँग पनि कहिल्यै बेइमानी गर्ने छैन।”
समान विकासको एजेन्डा भरतपुर महानगरपालिका, इच्छाकामना गाउँपालिका र कालिका नगरपालिका समेटिएको चितवन-२ को भौगोलिक र सामाजिक विविधतालाई सम्बोधन गर्ने उहाँको योजना छ। नारायणगढजस्ता सहरी क्षेत्रदेखि दुर्गमका चेपाङ र दलित बस्तीसम्म समान रूपमा विकासको पहुँच पुर्याउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।
पारदर्शितामा जोड विगतका जनप्रतिनिधिहरूले बजेट ल्याएको दाबी गरे पनि खर्चको विवरण पारदर्शी नभएको आरोप लगाउँदै खरेलले अब यथार्थमा आधारित निर्णय र पूर्ण पारदर्शिताको समय आएको बताउनुभयो। निर्वाचनको मिति नजिकिँदै गर्दा चितवन–२ मा खरेलको घरदैलो अभियानले निकै तीव्रता पाएको छ।




