काठमाडौं, फागुन १३ । आगामी फागुन २१ गते (मार्च ५) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री र मतपत्र देशभरका ७५ जिल्लामा पठाइएको छ। निर्वाचन आयोगले काठमाडौं र भक्तपुरबाहेकका सबै जिल्लामा सामग्री ढुवानी सम्पन्न भएको जनाएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने मतपत्र तथा अन्य निर्वाचन सामग्रीहरू ७५ जिल्लाका निर्वाचन कार्यालयहरूमा पुगिसकेका छन्।
आयोगले काठमाडौं र भक्तपुर जिल्लाका लागि भने बिहीबार भोलि निर्वाचन सामग्री र मतपत्र पठाउने तयारी गरेको छ। “काठमाडौं र भक्तपुरका लागि सामग्रीहरू सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा भोलि नै पठाइनेछ,” सहायक प्रवक्ता जीसीले जानकारी दिनुभयो।
निर्वाचनको मिति नजिकिँदै गर्दा आयोगले जनशक्ति व्यवस्थापन, तालिम र मतदान केन्द्रहरूको तयारीलाई समेत तीव्रता दिएको छ।




