काठमाडौं, फागुन १४ । प्रतिनिधिसभा निर्वाचन आउन मात्र एक साता बाँकी छँदा नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि बुधबार राति सिंगापुर प्रस्थान गरेका छन्।
पार्टीको विशेष महाधिवेशनमा गगन थापासँग नेतृत्व गुमाएपछि र यसपटकको निर्वाचनमा टिकट नपाएपछि असन्तुष्ट रहँदै आएका देउवाको यो विदेश भ्रमणलाई राजनीतिक वृत्तमा ‘रणनीतिक अर्थ’का साथ हेरिएको छ।
सन् १९९१ देखि डडेलधुराबाट लगातार सात पटक चुनाव जितेका देउवा यसपटक चुनावी मैदानमा छैनन् भने उनको स्थानमा पार्टीले नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। वर्तमान नेतृत्वले चुनावी प्रचारमा सहभागी हुन गरेको पटक-पटकको आग्रहलाई अस्वीकार गर्दै देउवा निर्वाचनको मुखैमा विदेशिएपछि कांग्रेसभित्रको आन्तरिक कलह थप स्पष्ट भएको छ।




