काठमाडौं, फागुन १४ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सरकारले सुरक्षा व्यवस्थामा कडाइ गर्दै देशभर मादक पदार्थ बिक्री-वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार मतदानको सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि यो नियम लागू हुनेछ। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय अनुसार यही फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध हुनेछ ।
जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउने भनिएको छ ।
यस्तै, फागुन १८ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ । फागुन २० गते राति १२ बजेदेखि २१ गते साँझसम्म निजी तथा सार्वजनिक सवारी साधन चलाउन पाइने छैन। एम्बुलेन्स, दमकल, शव वाहन, सुरक्षा निकाय, कूटनीतिक नियोग र निर्वाचन आयोगबाट पास प्राप्त सवारी साधनहरू मात्र चल्न पाउनेछन्।
निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रशासन र सुरक्षा निकायलाई आचारसंहिता उल्लंघन गर्नेमाथि कडा कानुनी कारबाही गर्न निर्देशन दिएको छ।




