नवलपरासी, फागुन १४ । प्रतिनिधिसभा निर्वाचन आउन मात्र एक साता बाँकी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासीका जिल्ला सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
नवलपरासीको बर्दघाटस्थित चौपतामा आयोजित कांग्रेसको विशाल चुनावी सभामा ठकुरीले औपचारिक रूपमा पार्टी त्यागको घोषणा गरेका हुन्। उनलाई नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले खादा र माला लगाएर पार्टीमा स्वागत गरे।
पार्टी प्रवेशपछि संक्षिप्त सम्बोधन गर्दै ठकुरीले रास्वपालाई ‘कागजी बाघ’को संज्ञा दिए। उनले भने, “मैले कागजी बाघ (रास्वपा) छोडेर मुलुकको असली बाघ नेपाली कांग्रेस रोजेको हुँ।”




