काठमाडौं, फागुन १५। निर्वाचन आयोगले बिहीबार बीबीसी वर्ल्ड सर्भिसद्वारा सार्वजनिक वृत्तचित्र (डकुमेन्ट्री) लाई निर्वाचन प्रक्रियामा नकारात्मक प्रभाव पार्ने ठहर गर्दै तत्काल हटाउन प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ।
भदाै २३ र २४ काे ‘जेन जी’ आन्दोलनमा आधारित उक्त डकुमेन्ट्रीमा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले निशस्त्र प्रदर्शनकारीमाथि गोली चलाउने आदेश दिएको आरोप लगाइएको छ, जसलाई प्रहरी प्रवक्ताले भने अस्वीकार गरेका छन्।
डकुमेन्ट्रीमा राजनीतिक नेतृत्वको बचाउ गरिएको र छानबिन आयोगको प्रतिवेदन सार्वजनिक हुनुपूर्व नै नियतवश ल्याइएको भन्दै आयोगले गम्भीर चासो देखाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उक्त सामग्रीले मतदाताको मनोविज्ञानमा असर पार्ने भएकाले तुरुन्त हटाउन निर्देशन दिएको र पालना नगरे निर्वाचन कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ।




