काठमाडौं, फागुन १७ । मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमका कारण विभिन्न देशका विमानस्थल र अन्य क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकहरूको सुरक्षित उद्धार र सहजीकरणका लागि नेपाल सरकारले विशेष पहल सुरु गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रभावित नेपालीहरूलाई तत्काल सहयोग पुर्याउन एउटा ‘र्यापिड एक्सन टिम’ तयारी अवस्थामा राखिएको छ। विशेषगरी भिसा प्राप्त गरेर पनि उड्न नपाएका, ट्रान्जिटमा रोकिएका र गन्तव्यसम्म पुग्न नसकेका नेपालीहरूको अवस्थालाई सरकारले नजिकबाट नियालिरहेको छ।
मन्त्रालयले हालसम्मको अवस्थामा कुनै पनि नेपालीलाई क्षति नपुगेको पुष्टि गर्दै मध्यपूर्वमा रहेका नेपालीका परिवारलाई नआत्तिन र धैर्य गर्न आग्रह गरेको छ। सरकारले सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गर्दै नेपालीहरूको सुरक्षा र कल्याण सुनिश्चित गर्न प्रतिबद्ध रहेको जनाएको छ।




