काठमाडौं, फागुन २० । निर्वाचन सुरक्षा व्यवस्थालाई चुस्त बनाउन निर्वाचन आयोगले बुधबार राति १२ बजेदेखि बिहीबार (मतदानको दिन) साँझ ५ बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार यो प्रतिबन्ध मतदान कार्य सम्पन्न नहुन्जेलसम्म लागू रहनेछ। यद्यपि, एम्बुलेन्स, दमकल, शववाहन, खानेपानी, विद्युत् र दूरसञ्चार जस्ता अत्यावश्यक सेवाका सवारी साधन भने पास बिना नै सञ्चालन हुन पाउनेछन्।
यसका साथै कूटनीतिक नियोगका निलो प्लेट भएका सवारी र आयोग वा जिल्ला प्रशासन कार्यालयबाट विशेष पास प्राप्त सवारी साधनलाई मात्र सडकमा गुड्ने अनुमति दिइएको छ। अन्य सबै यात्री तथा मतदाताहरूलाई आफ्नो गन्तव्यमा पुग्न बुधबार राति १२ बजेको समयसीमा तोकिएको छ। यदि यात्राका क्रममा कुनै अवरोध आएमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न समेत आयोगले आग्रह गरेको छ।




