भक्तपुर, फागुन २३ । राजनीतिक रूपमा सधैँ चर्चामा रहने भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा यसपटक अप्रत्याशित नतिजा आएको छ। नेपाल मजदुर किसान पार्टीका ‘अजय’ मानिने नेता प्रेम सुवाललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा उम्मेदवार रुकेश रन्जितले स्तब्ध पारेका छन्।
भक्तपुरलाई आफ्नो राजनीतिक गढ मान्दै आएको नेमकिपाका लागि यो हार इतिहासकै सबैभन्दा ठूलो धक्का सावित भएको छ। अन्तिम मत परिणाम अनुसार, रास्वपाका रन्जितले ३३,४३६ मत प्राप्त गरी विजयी झण्डा फहराएका छन् भने सुवाल २८,१४७ मतमा सीमित हुन पुगेका छन्।
२०७९ सालको निर्वाचनमा ३० हजार ७ सय ९३ को फराकिलो मतान्तरले जितेका सुवाल यसपटक आफैँ ५,२८९ मतले पछि परेका छन्। अघिल्लो चुनावमा ४२ हजारभन्दा बढी मत पाएका सुवालको लोकप्रियतामा आएको यो ह्रास र रास्वपाको उदयले भक्तपुरको परम्परागत राजनीतिमा मतदाताले विकल्प खोजेको स्पष्ट पारेको छ।
सुरुवातदेखि नै अग्रता लिएका रन्जितले नेमकिपाको किल्ला भत्काउँदै भक्तपुरमा ‘घण्टी’ बजाएपछि अब त्यहाँको स्थानीय राजनीतिमा नयाँ शक्ति सन्तुलन सुरु हुने अनुमान गरिएको छ।




