काठमाडौं, फागुन २४ । निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र नम्बर १ को अन्तिम मत परिणाम घोषणा नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा फेला परेपछि आयोगले फागुन १८ गते नै उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परी हाल विचाराधीन रहेकाले अदालतको अन्तिम आदेश नआएसम्म प्रत्यक्षतर्फको नतिजा सार्वजनिक नगर्न आयोगका शाखा अधिकृत अरुण अधिकारीले पत्राचारमार्फत जानकारी गराउनुभएको छ।
अदालतको फैसलापछि मात्र यस क्षेत्रको चुनावी अन्योल टुङ्गिने देखिएको छ।




