काठमाडौं, फागुन २५ । इजरायल र लेबनानबीचको युद्ध झन् उग्र बन्दै जाँदा आइतबार इजरायलले दक्षिणी लेबनान र राजधानी बेरुतमा गरेको पुनः हवाई आक्रमणमा थप १२ जनाको मृत्यु भएको छ।
लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार यो द्वन्द्वमा हालसम्म मृतकको सङ्ख्या ३९४ पुगेको छ, जसमा ८३ बालबालिका र ८२ महिला रहेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धको अर्को चरणका लागि आश्चर्यचकित पार्ने कदम बाँकी रहेको चेतावनी दिएपछि यो आक्रमण भएको हो। इजरायली सेनाले लेबनानी भूमिमा इरानी ‘आतंकवादी’ तत्वहरूलाई स्थान नदिने उद्घोष गर्दै इरानको कुड्स फोर्सका कमाण्डरहरूलाई निशाना बनाएको जनाएको छ।
यसैबीच, युद्धको संवेदनशीलतालाई मध्यनजर गर्दै कूटनीतिज्ञ र दूतावासका कर्मचारीसहित ११७ इरानी नागरिकलाई शनिबार राति रुसी विमानमार्फत बेरुतबाट उद्धार गरिएको छ। लेबनानले आफ्नो भूमिमा इरानी गार्ड्सका गतिविधिमा प्रतिबन्ध लगाएपछि यो उद्धार कार्य भएको हो। उता, इजरायली सेनाले पनि दक्षिणी लेबनानमा आफ्ना दुई सैनिक मारिएको पुष्टि गरेको छ, जुन गत हप्तादेखि सुरु भएको यस नयाँ झडपमा इजरायली सेनाको पहिलो क्षति हो। यसअघि शनिबार इजरायलले इरानको राजधानी तेहरानस्थित एक तेल भण्डारण केन्द्रमा समेत भीषण आक्रमण गरेको थियो।
लेबनानी सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमण भूमध्यसागरको किनारमा रहेको पर्यटकीय क्षेत्र ‘राउचे’ स्थित रामाडा होटलमा भएको थियो। सो होटलमा लेबनानका अन्य क्षेत्रबाट युद्धका कारण विस्थापित भएका मानिसहरूले पनि आश्रय लिइरहेका थिए, जसमध्ये कतिपय थप आक्रमणको डरले होटल छोडेर भागिरहेको देखिएका थिए। हिजबुल्लाह विरुद्धको नयाँ युद्ध सुरु भएयता मध्य बेरुतमा इजरायलले गरेको यो पहिलो आक्रमण हो।




