काठमाडौं, फागुन २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयनसम्बन्धी वर्तमान व्यवस्थामा परिवर्तन गर्ने तयारी गरेको छ। पार्टीको विधानमा रहेको प्रावधान व्यवहारिक नभएको निष्कर्षपछि त्यसलाई संशोधन गर्ने प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ।
रास्वपाको विधानको धारा ६६ मा संसदीय दलको नेता चयनसम्बन्धी व्यवस्था उल्लेख छ। सोही धाराको उपधारा ८(ख) मा संसदीय दलको नेता चयन गर्दा पार्टीका सबै साधारण सदस्यहरू मतदाता हुन पाउने प्रावधान रहेको छ। यही व्यवस्थालाई परिवर्तन गर्न पार्टीले विधान संशोधन गर्ने तयारी गरेको हो।
पार्टीका नेताहरूका अनुसार सबै साधारण सदस्यलाई मताधिकार दिएर संसदीय दलको नेता चयन गर्ने विधि व्यवहारिक रूपमा लागू गर्न कठिन हुने देखिएकाले नयाँ प्रक्रिया तय गर्ने विषयमा छलफल भइरहेको छ। नयाँ प्रस्तावअनुसार प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूमध्ये बहुमत मत प्राप्त गर्ने उम्मेदवारलाई संसदीय दलको नेता बनाउने व्यवस्था ल्याउने तयारी गरिएको छ।
यसैबीच रास्वपाले वरिष्ठ नेता बालेन्द्र साहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने तयारी पनि गरेको बताइएको छ। पार्टी विधानअनुसार सरकार गठनको अवस्था आएमा संसदीय दलको नेताले नै सरकारको नेतृत्व गर्ने भएकाले उनलाई उक्त जिम्मेवारी दिने योजना बनाइएको हो।
रास्वपा र काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर समूहबीच एकता हुँदा भविष्यमा सरकारको नेतृत्व बालेन्द्र साहले गर्ने सहमति भएको पनि उल्लेख गरिएको छ। वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्री बनाउने तयारी गरिरहेको रास्वपाले मन्त्री चयनबारे औपचारिक निर्णय भने सार्वजनिक गरेको छैन।




