काठमाडौं, चैत्र १ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिक तर्फको उम्मेदवार सूची निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बसेको थियो। बैठकले पूर्वनिर्धारित नामहरू सूचीमा राखी आयोगमा बुझाउने निर्णय गरेको प्रवक्ता एवं केन्द्रीय समिति सदस्य देवराज चालिसेले जानकारी दिए।
चालिसेले बताएअनुसार, समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले जितेको सिट संख्या अनुसार प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाइनेछ। कांग्रेसले समानुपातिकतर्फ २० सिट जितेको छ। आयोगको निर्देशनअनुसार क्लस्टर छुट्टाएर नाम सिफारिस गरिएको छ र कम्तीमा १५ जना महिला सिफारिस गर्ने व्यवस्था पनि कायम गरिएको छ।
हालसम्म सूची सार्वजनिक गरिएको छैन। कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ, जसमा एक मात्र महिला उम्मेदवार विजेता बनेकी छिन्।




