बर्दिया, चैत्र २ । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र प्रवेश गरेका सुर्खेतका पाँच जना व्यक्तिहरू आइतबार साँझदेखि बेपत्ता भएका छन्।
बेपत्ता हुनेहरूमा सुर्खेतको बराहताल गाउँपालिका–१ का रेशम सामसेली (२५), रामबहादुर घर्ती (३४), रविलाल दमाई (४१), सुनील सामसेली (३०) र लेकबेशी नगरपालिका–५ का दुर्गाबहादुर सिजाली (४५) रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार उनीहरू ‘शिकार’ खेल्ने उद्देश्यले निकुञ्ज क्षेत्रमा प्रवेश गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
उनीहरू सम्पर्कविहीन भएलगत्तै सुर्खेत प्रहरीले चार सदस्यीय सुरक्षा टोली परिचालन गरी खोजी कार्य तीव्र पारेको छ। घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय बर्दियालाई समेत जानकारी गराइएको छ र दुवै जिल्लाका सुरक्षा निकायबीच समन्वय भइरहेको छ।




