काठमाडौं, चैत्र ६ । मुलुकको नयाँ राजनीतिक कोर्ष अन्तर्गत नवनिर्वाचित सांसद र आगामी प्रधानमन्त्रीको शपथ ग्रहणको मिति तय भएको छ। फागुन २१ को निर्वाचनमा १८२ सिटसहित स्पष्ट बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आगामी चैत १३ गते प्रधानमन्त्रीको रूपमा शपथ लिने तयारी भएको छ।
बिहीबार साँझ पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डिपी अर्याल र डा. स्वर्णिम वाग्लेसहितको शीर्ष बैठकले शाहलाई प्रधानमन्त्रीको रूपमा अघि बढाउने निर्णयलाई औपचारिकता दिएको हो।
त्यसअघि, संघीय संसद् सचिवालयले चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित २७५ जना सांसदहरूको शपथ ग्रहण गराउने तालिका सार्वजनिक गरेको छ। ६ वटा राजनीतिक दलहरूसँगको छलफलपछि यो समय निश्चित गरिएको हो।
जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित पुरानो संसद् भवनमा क्षति पुगेकाले यसपटक सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा शपथ ग्रहण कार्यक्रम आयोजना गरिँदैछ। सचिवालयका अनुसार उक्त हलमा माइक, बत्ती र अन्य प्राविधिक व्यवस्थापनका कामहरू अन्तिम चरणमा पुगेका छन्।




