काठमाडौं, चैत १५ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम शाहलाई नियुक्त गर्नुभएको छ। बालेन काठमाडौँ महानगरको मेयर हुँदादेखि नै निकट सहयोगी रहेका उनीहरू बालेन-रवि सहकार्यका मुख्य सूत्रधार समेत मानिन्छन्।
बालेनका रणनीतिकार काठमाडौँ महानगरको मेयरको उम्मेदवारीदेखि नै बालेनलाई निरन्तर साथ दिँदै आएका बेन रणनीतिक योजना बनाउन माहिर मानिन्छन्। बालेनले निकै विश्वास गर्ने पात्रमध्येका एक बेनले अब प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको रूपमा कार्यसम्पादन गर्नेछन्।
राजनीतिक सहकार्यका सूत्रधार राजनीतिक सल्लाहकार नियुक्त हुनुभएका असिम शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन समूहबीचको एकतामा निर्णायक भूमिका खेल्नुभएको थियो। विशेषगरी, रवि लामिछाने जेलबाट छुटेपछि बालेन र रविबीच भएको चर्चित ‘७ बुँदे सहमति’ को वातावरण तयार पार्न शाहको महत्वपूर्ण योगदान रहेको छ। आफ्नै निवासमा मध्यरातसम्म छलफल गराएर बालेनलाई प्रधानमन्त्री बन्ने ‘प्रस्थान विन्दु’ तयार पार्न उनी सफल भएका थिए।




