काठमाडौं, चैत १६ । नेकपा (एमाले) का नेता तथा सचिव महेश बस्नेतले आज दिउँसो १ बजे माइतीघर मण्डलमा हुने विरोध प्रदर्शनमा आफू प्रत्यक्ष सहभागी हुने जानकारी दिनुभएको छ।
हिजो साँझदेखि नै प्रहरीले पक्राउ गर्न खोजेको र उनी ‘फरार’ रहेको भन्दै हल्ला फैलिएका बेला बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक चुनौती दिँदै आन्दोलनको मोर्चामा उपस्थित हुने बताउनुभएको हो। आफ्नो फेसबुक स्टेटस मार्फत बस्नेतले बालेन शाह नेतृत्वको वर्तमान सरकारलाई ‘अधिनायकवादी र निरंकुश’ को संज्ञा दिनुभएको छ। उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको गिरफ्तारीलाई ‘प्रतिशोधपूर्ण’ भन्दै यसको कडा विरोध गर्नुभएको छ।
बस्नेतले स्टेटस मार्फत भन्नुभएको छ:
“आज दिउँसो १ बजे माइतीघर मण्डलमा आयोजना हुने सशक्त विरोध कार्यक्रममा सहभागी हुन सम्पूर्ण साथीहरूलाई हार्दिक अनुरोध गर्दछु।
वर्तमान अधिनायकवादी र निरंकुश शैलीमा अघि बढिरहेको बालेन नेतृत्वको सरकारद्वारा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको प्रतिशोधपूर्ण गिरफ्तारी तथा कथित गृहमन्त्रीका सबै प्रकारका अराजक गतिविधिहरूको विरोधमा नेकपा (एमाले) राजधानी प्रदेशले आयोजना गर्न लागेको विशेष प्रदर्शनमा सशक्त सहभागिता जनाऔँ।
आन्दोलनको मोर्चामा भेट हुनेछ। जुझारु अभिवादन सहित।”




