काठमाडौं, चैत्र २५ । नेपाल टेलिकमले ग्राहकको हितलाई मध्यनजर गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मुख्य ब्यालेन्सबाट रकम काटिने प्रणालीमा सुधार गरेको छ। नयाँ व्यवस्थाअनुसार अब डाटा ९० प्रतिशत सकिएपछि ग्राहकलाई पूर्वजानकारी दिइनेछ र प्याकेज सकिएपछि इन्टरनेट चल्न स्वतः बन्द हुनेछ।
यसले गर्दा प्रयोगकर्ताको जानकारी बिना ब्यालेन्सबाट पैसा काटिने समस्या अन्त्य भएको छ। यद्यपि, कसैलाई आकस्मिक रूपमा मुख्य ब्यालेन्सबाटै डाटा चलाउनुपरेमा वा डिजिटल भुक्तानीका लागि थोरै समय इन्टरनेट चाहिएमा *444# डायल गरी अङ्क २ मार्फत ‘पे-एज-यू-गो’ सेवा सक्रिय पार्न सक्ने विकल्प समेत उपलब्ध गराइएको छ। मन्त्रालयको यो कदमले टेलिकमको सेवालाई थप पारदर्शी र ग्राहकमुखी बनाएको छ।




