काठमाडौं, वैशाख ९ । सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको सबै सम्बन्ध अन्त्य गरेका छन्। किराँतीले पार्टीको साधारण सदस्य समेत नरहने गरी ‘प्रलोपा’ छोडेको घोषणा गरेका हुन्।
पार्टी परित्यागको जानकारी दिँदै किराँतीले करिब ५ महिनाको छोटो यात्रामा आफूलाई मार्गदर्शन गर्ने नेताहरू, सहकार्य गर्ने साथीहरू र कर्मचारीहरूप्रति हार्दिक आभार प्रकट गरेका छन्। उनले यस अवधिमा प्राप्त अनुभवहरूलाई आफ्नो ‘अमूल्य सम्पत्ति’ को रूपमा आत्मसात् गरेको उल्लेख गरेका छन्।
आगामी यात्रा र प्रतिबद्धता संगठनसँगको औपचारिक सम्बन्ध टुंगिए पनि सहकर्मीहरूसँगको आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने किराँतीको विश्वास छ। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्- “जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई मुटुमा बोकेर जस्तोसुकै परिस्थिति आए पनि देश, जनताको सेवा र समाज रूपान्तरणको यात्राबाट म पछि हट्ने छैन।”
उनले आफ्नो आगामी राजनीतिक बाटो सहज नहुने स्वीकार गर्दै जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढ्ने दृढता व्यक्त गरेका छन्।
राजनीतिक पृष्ठभूमि र नयाँ गन्तव्य ‘जेनजी’आन्दोलनपछि तत्कालीन नेकपा (माओवादी केन्द्र) त्यागेर उनी प्रलोपामा आबद्ध भएका थिए। स्रोतका अनुसार, प्रलोपा छाडेसँगै किराँती अब हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध हुने अन्तिम तयारीमा रहेका छन्।




