काठमाडौं, वैशाख १६ ।प्रतिनिधि सभा सदस्य महाबीर पुनले राज्यको ढुकुटी र संसद् सचिवालयको प्रक्रियालाई पर्खिनुको साटो आफ्ना सबै भौतिक सम्पत्तिको विवरण सिधै जनताको अदालतमा पेश गरेका छन्।
आफूले आविष्कार केन्द्र र किताब बेचेर करोडौँ जम्मा गरेको आरोप लगाउनेहरूलाई जवाफ दिँदै उनले फेसबुकमार्फत पारदर्शी विवरण सार्वजनिक गरेका हुन्। उनले भनेका छन्, “म शिक्षा मन्त्री हुँदा पनि विवरण बुझाएको थिएँ, तर सरकारले सार्वजनिक गरिदिएन। त्यसैले अहिले सचिवालयलाई बुझाउनुअघि आफैँले बाहिर ल्याएको हुँ।”
पुनको सम्पत्तिमा के-के छ?
-
नगद: बैंकमा करिब २९ लाख रुपैयाँ (जसमा २५ लाख निर्वाचनको बचत रकम हो)।
-
जग्गा: कास्कीमा २८ रोपनी जग्गा (वि.सं. २०५२ सालमा अमेरिकाको कमाइबाट किनेको, जुन अहिले केन्द्रका लागि बेच्न खोज्दा ग्राहक नपाइएको)।
-
सुन: श्रीमतीका लागि किनेको करिब ३ तोला।
“मान्छे नै मेरो सम्पत्ति हुन्” पुनले आफ्नो बैंक ब्यालेन्स र जग्गाभन्दा ठूलो सम्पत्ति ‘मानवीय पुँजी’ लाई मानेका छन्। उनले भौतिक वस्तुलाई गौण मान्दै देश-विदेशमा रहेका आफ्ना असंख्य सहयोगीहरू नै आफ्नो अमूल्य र असिमित सम्पत्ति भएको बताएका छन्।
आफूमाथि रिस गर्ने र शंका गर्नेहरूलाई यो विवरणमाथि ‘खुल्ला छानबिन’ गर्न चुनौती दिँदै उनले आफूलाई कुनै भौतिक धनको मोह नरहेको स्पष्ट पारेका छन्।







