काठमाडौं, वैशाख १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारद्वारा हालै सिफारिस गरिएका अध्यादेशहरू राजनीतिक दाउपेच नभई राज्य प्रणालीमा आवश्यक सुधार ल्याउने उद्देश्यले प्रेरित रहेको स्पष्ट पार्नुभएको छ।
बुधबार आयोजित संसदीय दलको बैठकमा बोल्दै लामिछानेले विगतका सरकारहरूले पार्टी विभाजन गर्न वा विपक्षीलाई कमजोर बनाउन अध्यादेशको दुरुपयोग गर्ने गरेको स्मरण गर्दै वर्तमान कदम भने प्रणालीगत त्रुटि सच्याउन चालिएको दाबी गर्नुभयो। विगतका गलत नियुक्ति र राज्य संयन्त्रमा भएको राजनीतीकरणलाई अन्त्य नगरेसम्म जनताले चाहेको परिणाम दिन नसकिने तर्क गर्दै उहाँले अध्यादेशलाई राजनीतिक हतियार नभई कानुनी सुधारको कडीका रूपमा बुझ्न आग्रह गर्नुभयो।
साथै, उहाँले रास्वपा विधिको शासन र संस्थागत सुदृढीकरणका लागि प्रतिबद्ध रहेको भन्दै संसदीय समितिहरूमा देखिने गरेका पुराना गलत अभ्यासहरूलाई सच्याएर अघि बढ्ने बताउनुभयो।




