चितवन, वैशाख २० । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला नजिकै आज बिहानै खसेको पहिरो पन्छाइएपछि सडक अहिले दुईतर्फी सञ्चालनमा आएको छ।
आइतबार बिहान मुग्लिनबाट करिब ५ किलोमिटर नारायणगढतर्फको खण्डमा ठूला ढुङ्गासहितको पहिरो खस्दा यातायात सेवा आंशिक रूपमा अवरुद्ध भएको थियो। केही समय एकतर्फी मात्र सञ्चालनमा रहेको सडकलाई डिभिजन सडक कार्यालय भरतपुर र इलाका प्रहरी कार्यालय मुग्लिनको समन्वयमा मेशिन परिचालन गरी पूर्ण रूपमा खुलाइएको हो।
सडक दुवैतर्फी सुचारु भए तापनि सवारीको चापका कारण केही समय जाम हुन सक्ने भएकोले चालकहरूलाई लेन अनुशासन पालना गर्न र सुरक्षित तवरले सवारी चलाउन प्रहरीले अनुरोध गरेको छ। अवरोध हटेसँगै अहिले यस खण्डमा यातायातको आवागमन सामान्य भइरहेको छ।




