काठमाडौं, वैशाख २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी तथा व्यवसायीहरूलाई सरकारको कदमबाट त्रसित नहुन आग्रह गर्नुभएको छ।
आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा उहाँले सरकारको ध्यान नियन्त्रण भन्दा पनि नीतिगत सुधार र सुशासनमा केन्द्रित रहेको स्पष्ट पार्नुभयो। लामिछानेले अर्थतन्त्रलाई हानि पुऱ्याउने गतिविधिमाथि राज्यले निगरानी राख्ने भए तापनि इमानदार उद्यमीहरूलाई लक्षित गर्ने वा दुःख दिने कुनै मनसाय नरहेको बताउनुभयो।
विगतको राजनीतिक अस्थिरताका कारण व्यवसायीहरूले झेल्नुपरेको दबाब र समस्याप्रति संवेदनशील हुँदै उहाँले अब त्यस्तो परिस्थिति दोहोरिन नदिने र लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता समेत जनाउनुभयो। आर्थिक पुनर्संरचना र सुधारलाई प्राथमिकतामा राख्दै उहाँले व्यवसायीहरूलाई ढुक्क भएर काम गर्न र देशको आर्थिक विकासमा सहकार्य गर्न आह्वान गर्नुभएको छ।




