काठमाडौं, वैशाख २२ । नेपाली काँग्रेसले महाकाली पूर्वको नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने सम्बन्धमा भारत र चीनबीच भएको सहमतिप्रति कडा आपत्ति जनाएको छ।
सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग रहेको पुनः स्पष्ट पार्दै दुई छिमेकी मुलुकको उक्त कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
पार्टी सहमहामन्त्री उदयशमशेर राणाका अनुसार, यस विषयमा सरकारले भारत र चीन दुवैलाई पठाएको कुटनीतिक नोटलाई काँग्रेसले सकारात्मक रूपमा लिएको छ। वि.सं. २०७२ मा सुशील कोइराला नेतृत्वको सरकारले नै पहिलो पटक यसबारे कुटनीतिक नोट पठाएर संस्थागत अडान राखेको स्मरण गर्दै राणाले सीमासम्बन्धी विवाद कूटनीतिक संवादबाटै समाधान हुनुपर्नेमा जोड दिनुभयो।
यसका साथै, बैठकले सरकारले हालै जारी गरेका अध्यादेशहरूबारे चर्चा गर्दै सुशासनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए पनि अध्यादेशमार्फत काम गर्दा संसदीय सर्वोच्चताको ख्याल नगरिएकोमा समेत चासो व्यक्त गरेको छ।




