काठमाडौं, वैशाख २२ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ। सरकारले दोस्रो पटक गरेको सिफारिसका आधारमा राष्ट्रपतिले यो अध्यादेश प्रमाणीकरण गर्नुभएको हो।
यसअघि मन्त्रिपरिषद्ले पठाएका विभिन्न अध्यादेशहरूमध्ये संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा पुनर्विचार आवश्यक रहेको भन्दै राष्ट्रपतिले फिर्ता पठाउनुभएको थियो। तर, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेशमा कुनै संशोधन नगरी पुनः राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेपछि संवैधानिक प्रावधान अनुसार मंगलबार यो जारी भएको हो।
यस अध्यादेशको जारीसँगै लामो समयदेखि रोकिएका संवैधानिक निकायहरूमा नियुक्ति प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ। सरकारको यो कदमले रिक्त रहेका पदहरूमा नियुक्ति गर्ने कानुनी बाटो प्रशस्त गरेको विश्लेषण गरिएको छ।




