काठमाडौं, वैशाख २३ । चितवन मेडिकल कलेज (सिएमसी) ले काठमाडौं र हेटौंडामा ठूलो लगानीसहित स्वास्थ्य सेवा विस्तार गर्ने महत्त्वाकांक्षी योजना अघि सारेको छ।
काठमाडौंको तीनकुनेमा १७ रोपनी क्षेत्रफलमा १२ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा ३ सय शय्याको ‘सिएमसी काठमाडौं अस्पताल’ सञ्चालनको तयारी गरिएको छ, जसको व्यवस्थापन विश्वप्रसिद्ध भारतीय अस्पताल ‘मेदान्त’ले गर्नेछ। आगामी दशैँको घटस्थापनादेखि नै सेवा सुरु गर्ने लक्ष्य राखिएको यो अस्पताल निजी क्षेत्रबाट सञ्चालित नेपालकै ठूलो र अत्याधुनिक मल्टिस्पेशलिष्ट अस्पताल हुनेछ, जसले विशेषगरी क्यान्सर र अन्य अतिविशिष्टिकृत उपचारका लागि विदेश जानुपर्ने बाध्यतालाई हटाउने विश्वास गरिएको छ।
यसैगरी, सिएमसीकै नेतृत्वमा हेटौंडा उपमहानगरपालिका–४ मा पनि करिब २ अर्ब ५० करोडको लगानीमा १०० शय्याको ‘सिएमसी हेटौंडा’ अस्पतालको निर्माण कार्य तीव्र पारिएको छ। राजमार्गसँगै जोडिएको १९ कठ्ठा जमिनमा निर्माण भइरहेको यस अस्पतालले वि.सं. २०८४ को दशैँदेखि सेवा सुरु गर्ने लक्ष्य राखेको छ।
अध्यक्ष प्रताप देवकोटाका अनुसार स्थानीय साझेदारहरूसमेतको सहभागिता रहेको यो परियोजनाले मकवानपुरसहित बारा, पर्सा र रौतहट लगायतका छिमेकी जिल्लाका बासिन्दालाई स्तरीय स्वास्थ्य सेवा र रोजगारीका अवसरहरू प्रदान गर्दै उपचारका लागि काठमाडौं वा भरतपुर धाउनुपर्ने झन्झटबाट मुक्ति दिलाउनेछ।




