काठमाडौं, वैशाख २३ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहमाथि आफ्नो अनुकूल व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन जालझेल गरेको गम्भीर आरोप लगाउनुभएको छ।
बुधबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्रीले नियुक्ति प्रक्रियामाथि नियन्त्रण जमाउन खोजेको दाबी गर्नुभयो। संसदको अधिवेशन आह्वान र स्थगन जस्ता गतिविधिहरू पनि सोही उद्देश्यका लागि गरिएको उहाँको आरोप छ।
प्रधानमन्त्रीले नियुक्ति प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाउनुको सट्टा परिषद्मा आफ्नो प्रभाव बढाएर चाहेको व्यक्ति नियुक्त गर्न खोजेको भन्दै थापाले यसलाई आपत्तिजनक र कांग्रेसका लागि अमान्य कदम बताउनुभयो। बिहीबार अपराह्न ५ बजेका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकलाई पनि उहाँले यसै रणनीतिको हिस्सा भएको उल्लेख गर्दै यसबारे सदन र सडकबाट सशक्त विरोध गर्ने चेतावनी दिनुभएको छ।




