काठमाडौं, बैशाख २९ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षण संस्थामा व्यावसायिकता कायम गर्न शिक्षकहरू राजनीतिक गतिविधिबाट टाढा रहनुपर्ने बताउनुभएको छ। मंगलबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिँदै उहाँले राजनीतिमा रुचि हुने शिक्षकले शिक्षण पेशा छाड्नुपर्ने स्पष्ट पार्नुभयो।
शिक्षा क्षेत्रका कमजोरी सुधार्न सरकार सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले विद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गरी अनुशासित प्राज्ञिक वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। इन्धन अभाव र मन्त्रिपरिषद्को निर्णयका कारण यस वर्षको शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्नुपरेको र सर्वोच्च अदालतको आदेशपछि समयतालिका फेरबदल गरी वैशाख २१ देखि कक्षा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो।
विद्यालयको शुल्क नियमन गर्ने अधिकार स्थानीय तहकै भएको बताउँदै उहाँले तोकिएको भन्दा बढी शुल्क लिने विद्यालयमाथि कडा कारबाही हुने चेतावनी समेत दिनुभयो।




