काठमाडौं, वैशाख २९ । नेपाली कांग्रेसका संसदीय दलका सचेतक भीष्मराज आङ्देम्बेले सरकारको कार्यशैली र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाउनुभएको छ। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङ्देम्बेले नागरिकले सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था आउनु लोकतान्त्रिक शासन व्यवस्थाका लागि दुर्भाग्यपूर्ण भएको बताउनुभयो।
उहाँले लोकतन्त्र बन्द कोठाको प्रणाली नभएको उल्लेख गर्दै सरकारलाई जनताप्रति प्रत्यक्ष जवाफदेही र उत्तरदायी बन्न आग्रह गर्नुभयो। सरकार वास्तविक समस्या समाधान गर्नुभन्दा पनि लोकप्रिय देखिने घोषणामा मात्र केन्द्रित भएको उहाँको आरोप थियो।
यसैगरी, नेता आङ्देम्बेले सुकुम्बासी समस्या अझै समाधान हुन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो। सुकुम्बासीका समस्या समाधान गर्दा मानवीय संवेदनशीलता र मर्यादालाई ख्याल नगरिएको भन्दै उहाँले यस्तो लापर्बाहीले राज्यप्रति जनताको विश्वास गुम्ने चेतावनी दिनुभयो।




