काठमाडौँ, वैशाख ३० । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे ठगी तथा आपराधिक विश्वासघातको कसूरमा पक्राउ परेका छन्। सरकारी सम्पत्ति हिनामिना गरेको र स्मार्ट टेलिकमको लिलामी प्रक्रियामा अनियमितता गरेको आरोपमा प्रहरीले उनलाई सिन्धुलीबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, अनुमतिपत्र नवीकरण नगरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले २०८० वैशाख ३ गते स्मार्ट टेलिकमको अनुमतिपत्र रद्द गरेको थियो। नियमानुसार अनुमतिपत्र रद्द भएपछि उक्त टेलिकमका सम्पूर्ण सम्पत्ति, पूर्वाधार र सञ्चार सञ्जाल सरकारी (प्राधिकरणको) नियन्त्रणमा पुगेका थिए। तर, सोही सम्पत्तिलाई बेइमानीपूर्वक हिनामिना गरी सरकारी हकहितमा क्षति पुर्याएको आरोप पाण्डेमाथि लागेको छ।
बैंकले २०८२ असोज ३ गते स्मार्ट टेलिकमका उपकरणहरू लिलामीको सूचना निकाल्दा सहभागी हुने पक्षले घरभाडा र विद्युत् महसुलबापत करिब ४० करोड रुपैयाँ अतिरिक्त बुझाउनुपर्ने सर्त राखेको थियो। अनुसन्धानका क्रममा बैंकले उक्त रकम संकलन गरे पनि सम्बन्धित घरधनी र निकायलाई भुक्तानी नगरी आफैँले राखेर ठगी गरेको देखिएको प्रहरीको दाबी छ।
स्मार्ट टेलिकमको लोन रिकभरी कमिटीका अध्यक्षसमेत रहेका पाण्डे मोबाइल फोन स्वीच अफ गरी फरार हुने प्रयासमा थिए। उनलाई २०८३ वैशाख २९ गते राति करिब ८ बजे सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित मदन भण्डारी राजमार्गमा सवारी चेकजाँचका क्रममा पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा पक्राउ परेका पाण्डेलाई हाल मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघातको कसूरमा थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।




