काठमाडौं, वैशाख ३१ । अत्यधिक मूल्यवृद्धिको समस्या सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलित भएको छ।
महासंघले बिहीबार देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन-पत्र बुझाउँदै आधा घण्टा धर्ना दिएको छ। मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी र श्रमिक लागतमा अप्रत्याशित वृद्धि भएपछि निर्माण कार्य अगाडि बढाउन नसकिने भन्दै व्यवसायीहरू सडकमा उत्रिएका हुन्। यसै क्रममा केन्द्रमा सडक विभाग र सिँचाइ विभागका महानिर्देशकहरूलाई ज्ञापन-पत्र बुझाइएको छ भने ७७ वटै जिल्ला संघहरूले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
महासंघका अनुसार शुक्रबार र सोमबार जिल्लास्थित पूर्वाधार विकास कार्यालयहरूमा धर्ना दिने र सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई ज्ञापन-पत्र बुझाउने कार्यक्रम तय गरिएको छ। उचित सम्बोधन नभए देशभरका निर्माण कार्य ठप्प हुने चेतावनी समेत महासंघले दिएको छ।




