काठमाडौं, जेठ १ । सरकारले निवर्तमान गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुधन गुरुङका विरुद्ध सार्वजनिक रूपमा उठेका विषयहरूको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। वैशाख २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति बनाउने निर्णय गरेको हो।
प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेका छन्। गुरुङ मन्त्री पदमा बहाल रहँदा र त्यसपछि उठेका विभिन्न सार्वजनिक सरोकारका विवादहरूको गहिरो अध्ययन गरी राय सुझावसहितको प्रतिवेदन बुझाउन समितिलाई १५ दिनको समयसीमा तोकिएको छ। सांसद गुरुङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिनका लागि सरकारले यो कदम चालेको बुझिएको छ।




