काठमाडौं, जेठ ३ । प्रत्येक ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटको चक्रमा पर्ने मलमास (अधिकमास) आज आइतबारदेखि सुरु भएको छ। आगामी असार १ गतेसम्म रहने यस विशेष अवधिमा हिन्दू धर्मालम्बीहरू पूजापाठ, भगवद् भक्ति, व्रत, जप, तप र योग जस्ता आध्यात्मिक कार्यहरूमा लीन हुने गर्दछन्।
यो महिना आध्यात्मिक रूपमा अत्यन्तै पवित्र मानिए पनि यस अवधिमा गरिने विवाह, व्रतबन्ध, गृह प्रवेश, मुण्डन जस्ता लौकिक तथा शुभ मांगलिक कार्यहरूमा भने पूर्ण रूपमा बन्देज रहने गर्दछ। शास्त्रविद्हरूका अनुसार बृहस्पति र शुक्र अस्त भएका बेला करना नहुने भनिएका सम्पूर्ण कर्महरू मलमासमा पनि गर्नुहुँदैन। विशेष गरी नवविवाहित श्रीमान्–श्रीमतीले मलमासको अवधिमा ‘गर्भाधान गर्नुहुँदैन’ भन्ने शास्त्रीय मान्यताका कारण एउटै घरमा बस्न नहुने र मलमास छल्नुपर्ने सामाजिक परम्परा रहिआएको छ।
ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्षमा सौर र चान्द्रमासलाई समन्वय गर्न हरेक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउने गर्दछ। एउटा औँसीदेखि अर्को औँसीसम्मको अवधिभित्र सूर्यको कुनै पनि सङ्क्रान्ति पर्दैन भने त्यसलाई मलमास भनिन्छ। यसको ठीक विपरीत, यदि एउटै चान्द्र महिनाभित्र दुई वटा सङ्क्रान्ति पर्यो भने त्यसलाई ‘क्षयमास’ भनिन्छ, जुन एकदमै दुर्लभ हुन्छ र यसअघि विक्रम संवत २०२० सालमा परेको थियो। ज्योतिषका महान् विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ ‘सिद्धान्त शिरोमणि’ मा लेख्नुभए अनुसार “असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद्, द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित्” अर्थात् सङ्क्रान्ति नभएको महिना अधिकमास हो भने दुईवटा सङ्क्रान्ति भएको महिना क्षयमास हो। यस्तो क्षयमास प्रायः कार्तिक, मङ्सिर र पुसमा मात्र रैथाने हुन्छ भने माघ महिनामा अधिकमास र क्षयमास दुवै पर्दैनन्।
‘पुरुषोत्तममास माहात्म्य’ नामक धर्मग्रन्थमा उल्लेख भएअनुसार, सबै महिनाका अधिपति देवता भए पनि सुरुमा मलमासको कुनै देवता नहुँदा उनले हेला र अपमान सहनुपरेको थियो। मलमास रुँदै भगवान् श्रीकृष्ण (विष्णु) कहाँ पुगेर आफ्नो दुःख बिसाएपछि करुणासिन्धु श्रीहरिले उनलाई आफ्नो नाम ‘पुरुषोत्तम मास’ प्रदान गर्दै यसको स्वामी स्वयं आफू रहने वरदान दिनुभयो। भगवानको यही वरदानका कारण यस महिनामा निष्काम भावले गरिएको आराधना अन्य महिनाहरूको तुलनामा दश गुणा बढी फलदायी हुने जनविश्वास छ। यही अवसरमा काठमाडौँको कीर्तिपुर र चन्द्रागिरिको सिमानामा पर्ने ऐतिहासिक मत्स्यनारायण (मच्छेनारायण) मन्दिरमा महिनादिन लामो भव्य मेला लाग्ने गर्दछ, जहाँ माछाको मुखबाट प्रकट भएको भगवान् विष्णुको दुर्लभ प्रस्तर मूर्तिको दर्शन गर्न लाखौँ भक्तजनहरू आउने गर्दछन्।
यस पवित्र महिनाभरि घरमै भगवान सत्यनारायणको पूजा, ‘ॐ नमो भगवते वासुदेवाय’ मन्त्रको जप, श्रीमद्भागवत गीताको १४ौँ अध्यायको पाठ, शालिग्रामको अगाडि घिउको दीपक प्रज्वलन तथा असहायहरूलाई अन्न, वस्त्र र छाता दान गर्नाले जन्म-जन्मान्तरसम्म अक्षय पुण्य र सुख-समृद्धि प्राप्त हुने शास्त्रहरूमा उल्लेख छ।




