काठमाडौं, जेठ ३ । नेपाली काँग्रेसका नेता गगन थापाले नागरिकको आत्मसम्मान र मौलिक अधिकारको सन्दर्भमा कसैसँग कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभएको छ।
प्रजातान्त्रिक विचार समाज, नेपालको साधारणसभामा बोल्दै नेता थापाले संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार दिएको स्मरण गराउँदै नागरिक अधिकारको सवालमा काँग्रेस सधैँ स्पष्ट रूपमा उभिने बताउनुभयो। वर्तमान सरकारले नागरिक अधिकारलाई कुण्ठित गरेर सुकुम्बासी बस्तीमा डोजर चलाएको आरोप लगाउँदै उहाँले कुनै पनि नेता वा सरकार संविधान र कानुनभन्दा माथि हुन नसक्ने उल्लेख गर्नुभयो। सुशासनका नाममा नागरिक अधिकारलाई कमजोर पार्ने अभ्यास लोकतन्त्रमा स्वीकार्य नहुने उहाँको भनाइ थियो।
नेता थापाले सरकार जतिसुकै बहुमत प्राप्त भए पनि संवैधानिक परिधिभन्दा माथि जान नसक्ने बताउनुभयो। उहाँले भन्नुभयो, “डेमोक्रेसीबाट हामीलाई परिणाम चाहिएको छ, सुशासन ठीक ढङ्गले हुनुपर्छ। तर, त्यससँगै नागरिकका अधिकारको सुरक्षा पनि सुनिश्चित हुनुपर्छ। सुकुम्बासी बस्तीमा डोजर चलाइएको सन्दर्भमा मैले बुझेको यही हो। हामीले संविधान लेख्ने बेलामा मौलिक हकको पहिलो नम्बरमै सम्मानपूर्वक बाँच्न पाउने अधिकार राखेका छौँ।”
उहाँले पीडित नागरिक आफ्नो मतदाता हो कि होइन भन्ने कुराले काँग्रेसलाई कुनै फरक नपार्ने स्पष्ट पार्नुभयो। “त्यो पीडित नागरिक मेरो मतदाता हो कि होइन, मलाई थाहा छैन र मतलब पनि छैन। नेपाली काँग्रेसलाई त्यस्तो कुरामा मतलब हुनु पनि हुँदैन। उहाँहरूले काँग्रेसलाई कहिल्यै मत नहाल्न पनि पाउनुहुन्छ। तर, जब नागरिकको अधिकार र आत्मसम्मानको कुरा आउँछ, यो विषयमा काँग्रेसले कुनै ‘कम्प्रमाइज’ गर्दैन,” थापाले भन्नुभयो।
सम्बोधनका क्रममा नेता थापाले कानुनी परिधिभित्र रहेर गरिने सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रका सकारात्मक काममा भने काँग्रेसको पूर्ण समर्थन रहने स्पष्ट पार्नुभयो।
उहाँले लोकतन्त्र, संविधान र नागरिक अधिकारको रक्षाका लागि काँग्रेसले सडक र सदन दुवै ठाउँबाट सधैँ सङ्घर्ष गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, हाल लोकतन्त्र र अधिकारका लागि आन्दोलन गर्नेहरूलाई अपराधीकरण गर्न खोजिएको भन्दै उहाँले आपत्ति समेत जनाउनुभयो।




