समितिका अनुसार पहिलो चरणमा कान्तिपुर सहकारीका २१५ जना, शिवशिखर बहुउद्देश्यीय सहकारीका १५६ जना र पशुपति सहकारीका ७ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन्। अधिकारीहरूका अनुसार यो प्रारम्भिक कदम मात्रै हो। हाल साना बचतकर्ताहरूलाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको र आगामी दिनमा बचतको वर्गीकरणका आधारमा चरणबद्ध रूपमा यो प्रक्रिया निरन्तर चलिरहने समितिले जनाएको छ।
अहिले देशभरीका समस्याग्रस्त सहकारीहरूमा झण्डै ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ फिर्ता हुन बाँकी छ, जसमा अधिकांश साना बचतकर्ता छन्। समितिले ५ लाख रुपैयाँभन्दा कम बचत भएकाहरूलाई ‘साना बचतकर्ता’ र सोभन्दा बढी रकम भएकाहरूलाई ‘ठूला बचतकर्ता’को रूपमा वर्गीकरण गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले रकम फिर्ता प्रक्रियासँगै ऋणीहरूबाट असुली कार्यलाई पनि तीव्र पारिएको जानकारी दिएकी छन्। अधिकारीहरूका अनुसार हालसम्म ऋणीहरूबाट २ करोड रुपैयाँभन्दा बढी असुली भइसकेको छ। अबका दिनमा ऋणीबाट रकम असुल गर्ने र बचतकर्तालाई फिर्ता गर्ने कार्य सँगसँगै अगाडि बढ्ने मन्त्रालयले स्पष्ट पारेको छ।




