वीरगन्ज, जेठ ५ । वीरगन्जको होटल सिद्धार्थ दियालोबाट सोमबार राति पक्राउ परेका विवादित व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार उनलाई पर्सा जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतले हिरासतको म्याद थप गरेको हो।
प्रसाईंले सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भाव बिगार्ने गतिविधि गरेको र राज्यविरुद्ध उक्साउने कार्यमा संलग्न रहेको भन्दै परेका उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।
उनीमाथि विद्युतीय कारोबार ऐन र सार्वजनिक शान्ति विरुद्धको कसुर अन्तर्गत अनुसन्धान भइरहेको छ। प्रहरीले प्रसाईंका सार्वजनिक अभिव्यक्ति, कार्यक्रमहरू र सामाजिक सञ्जालका गतिविधिबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।




