काठमाडौं, जेठ ६ । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले कास्कीस्थित श्री सेन्ट्रल एक्स्चेञ्ज काउण्टर प्रा.लि.को मनीचेन्जर इजाजतपत्र खारेज गरेको छ। पोखरा–६, कास्कीमा दर्ता भई परिवर्त्य विदेशी मुद्रा खरिदको कारोबार गर्दै आएको यस कम्पनीको इजाजतपत्र राष्ट्र बैंकले औपचारिक रूपमा खारेज गरेको हो।
राष्ट्र बैंकद्वारा जारी सूचनाअनुसार, कम्पनीले आफ्नो कारोबार बन्द गर्ने निर्णय गर्दै इजाजतपत्र खारेजीका लागि स्वेच्छिक रूपमा निवेदन पेस गरेको थियो। सोही निवेदनका आधारमा केन्द्रीय बैंकले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।
नेपाल राष्ट्र बैंक, मनीचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम बैंकले उक्त निर्णय लिएको हो। २०८३ वैशाख ३० गतेको निर्णयानुसार सेन्ट्रल एक्स्चेञ्ज काउण्टर प्रा.लि.को इजाजतपत्र खारेज गरिएको जानकारी दिँदै राष्ट्र बैंकले सर्वसाधारण तथा सरोकारवाला सबैको जानकारीका लागि यो सूचना सार्वजनिक गरेको हो।





