कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा धेरै अन्य विविध उल्लंघन गर्ने १,३६८ जना रहेका छन्। यसैगरी, सवारी नियम विपरीत राइड-शेयरिङ गर्ने २३८ जना, तीव्र गतिमा सवारी चलाउने १८६ जना, रातो बत्ती उल्लंघन गर्ने १८४ जना र वान-वे उल्लंघन गर्ने १३९ जना चालकहरू कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीका अनुसार जथाभाभी हर्न बजाउने ११९ जना, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १०५ जना, फुटपाथमा गाडी गुडाउने १०० जना र लेन अनुशासन उल्लंघन गर्ने १४ जना चालकलाई पनि कारबाही गरिएको छ।
उपत्यकाको सडक अनुशासनलाई थप मजबुत र व्यवस्थित बनाउन यो व्यापक चेकिङ अभियान चलाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो। सडक सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले कोही पनि चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको शंका लागेमा तुरुन्तै नजिकैको प्रहरी एकाइ, ट्राफिक नियन्त्रण कक्षको हटलाइन नम्बर १०३ वा प्रहरीको आपतकालीन नम्बर १०० मा सम्पर्क गरेर जानकारी दिन सर्वसाधारणसँग आग्रह गरेको छ।




