वीरगञ्ज, जेठ १२ गते । मेडिकल व्यवसायी दुर्गा प्रसाईं जिल्ला अदालत पर्साको आदेशपछि साधारण तारिखमा रिहा भएका छन्। जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मंगलबार प्रसाईंलाई साधारण तारिखमा छाड्न आदेश दिएको हो।
अदालतको उक्त आदेश लगतै प्रसाईं जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतबाट मुक्त भएका छन्। उनीविरुद्ध साइबर कसुर र राज्यविरुद्धको कसुर अन्तर्गत मुद्दा दायर गरिएको थियो।
प्रसाईंलाई गत जेठ ४ गते वीरगञ्जस्थित दियालो होटलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। यसअघि सर्वोच्च अदालतले थपिएको म्यादभित्रै मुद्दा चल्ने वा नचल्ने (मुद्दाको किनारा लगाउने) निर्णय गर्न आदेश दिएको थियो, जसको निरन्तरता स्वरूप आज जिल्ला अदालतले यो आदेश जारी गरेको हो।




