काठमाडौं, जेठ १८ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट महत्त्वाकाङ्क्षी भएको भन्दै भइरहेका आलोचनालाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्ण रूपमा अस्वीकार गरेका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयोजना गरेको ‘पोष्ट बजेट’ छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले वर्तमान बजेट आकारका हिसाबले विगत १० वर्षयताकै सबैभन्दा सानो र सन्तुलित भएको दाबी गरे। बजेटलाई लिएर बजारमा फैलाइएका भ्रमहरू चिर्न आवश्यक रहेको उनको जिकिर छ।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातलाई आधार मान्दा यो बजेट केवल २८.५ प्रतिशत मात्रै रहेको अर्थमन्त्रीले स्पष्ट पारे। विगतमा भूकम्प र कोभिड महामारीको समयमा ३५ देखि ३७ प्रतिशतसम्मको बजेट ल्याउने गरिएको स्मरण गराउँदै उनले अहिलेको बजेटलाई राज्यको वास्तविक स्रोत र कार्यान्वयन क्षमताको जगमा उभ्याइएको बताए। विगतमा १९ खर्ब ६४ अर्बसम्मको बजेट घोषणा गरिए पनि खर्च गर्ने क्षमता १६ देखि १७ खर्बमा मात्रै सीमित हुने गरेकाले यसपटक २१ खर्ब २४ अर्ब रुपैयाँको यथार्थपरक बजेट ल्याइएको उनले प्रस्ट पारे।
बजेटले ६५० अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको विषयमा प्रष्टीकरण दिँदै डा. वाग्लेले उक्त ऋणको ठुलो हिस्सा नयाँ काममा नभई पुरानो ऋणको साँवा र ब्याज भुक्तानीमै खर्च हुने जानकारी दिए। आगामी वर्षका लागि सरकारले १५ खर्ब ८० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ। समय र स्रोतको चरम दबाबका बीच पनि पाँच वर्षे कार्ययोजनाको बलियो आधार तयार पार्न पहिलो वर्षको यो बजेट ल्याइएको र आगामी वर्ष थप जटिल नीतिगत सुधारहरू गरिने उनले प्रतिबद्धता जनाए।
विगत दुई दशकमा बनेका पूर्वाधारलाई देशको आर्थिक वृद्धिसँग जोड्न सरकारले सातै प्रदेशमा ‘ग्रोथ क्वाड्र्याङ्गल’ को नयाँ अवधारणा अघि सारेको छ। यसअन्तर्गत मुग्लिन–पोखरा सडक, सिद्धार्थ राजमार्ग र हुलाकी राजमार्गको विस्तार गरी आर्थिक गतिविधिलाई चलायमान बनाइनेछ। बजारमा छाएको वर्तमान शिथिलता र न्यून मागलाई सम्बोधन गर्न बजेटमा आयकर छुट र कर प्रोत्साहनका विशेष व्यवस्थाहरू गरिएको बताउँदै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई लगानीका लागि आकर्षित गर्न (क्राउड इन) सरकारले साना तर दूरगामी प्रभाव पार्ने कदमहरू चालेको दाबी गरे।




