काठमाडौं, जेठ १८ । प्रधानमन्त्री बालेन्द्र (बालेन) साहले सीमा विवादका विषयमा दिएको एक अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभामा तीव्र विवाद उत्पन्न भएको छ। सोमबार प्रतिनिधि सभाको बैठक सुरू हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले सिटबाट उठेर कडा विरोध जनाएका हुन्।
संसद्मा विपक्षीको विरोधपछि सभामुखले उनीहरूलाई बोल्ने समय दिएका थिए। बैठकमा बोल्दै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अनुमानको भरमा मुलुक चल्न नसक्ने टिप्पणी गरे। उनले नेपालले भारतको जमिन मिचेको कुनै प्रमाण भए तत्काल सार्वजनिक गर्न प्रधानमन्त्रीसँग माग गरे। यदि प्रमाण बिना नै प्रधानमन्त्रीले यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिएका हुन् भने ती शब्दहरू संसद्को रेकर्डबाट तत्काल हटाउनुपर्नेमा उनले जोड दिए।
बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले सम्पूर्ण नेपालीको शिर निहुरिने अवस्था आएको बताए। सीमा जस्तो संवेदनशील विषयमा सस्तो लोकप्रियता कमाउनका लागि प्रधानमन्त्रीले हल्का टिप्पणी गरेको आरोप लगाउँदै सचेतक राईले यस विषयमा प्रधानमन्त्री आफैँ संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने माग गरे।
बैठकको सुरुवातमै नेपाली कांग्रेसका सचेतक निष्कल राई, नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र राप्रपाका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको भनाइबारे सरकारले तत्काल स्पष्ट पार्नुपर्ने धारणा राखेका थिए। सांसदहरूले प्रधानमन्त्रीको अपरिपक्व अभिव्यक्तिले अन्तर्राष्ट्रिय मञ्चमा देशको छविमा गम्भीर असर पारेको ठहर गरेका छन्।
विपक्षी नेताहरूले संसद् जस्तो गरिमामय र महत्वपूर्ण मञ्चमा गरिने हरेक अभिव्यक्ति प्रमाण र तथ्यमा आधारित हुनुपर्ने भन्दै सरकारसँग आधिकारिक स्पष्टीकरणको माग गरेका छन्। यदि प्रधानमन्त्रीले उठाएको विषय तथ्यमा आधारित हो भने नेपालले भारतको भूमि अतिक्रमण गरेको भनिएका स्थानहरूको विस्तृत विवरण सरकारले तत्काल सार्वजनिक गर्नुपर्ने उनीहरूको अडान छ।




